मंसिर ४ को चुनावका लागि १ लाख १५ हजार म्यादी भर्ना गरिने

काठमाडौं भदौ १४ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिने भएको छ। मंसिर ४ गते हुने निर्वाचन सुरक्षाका लागि प्रहरीले १ लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताव गृह मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पठाएको थियो। तर प्रहरीको प्रस्तावमा कटौती गर्दै अर्थले १ लाख १५ हजार म्यादीको सहमति दिएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

यसअघि वैशाख ३० गते सम्पन्न भएको स्थानीय चुनावी सुरक्षामा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो। मन्त्रालयले दिएको सहमतिको विषयमा नेपाल प्रहरीको केन्द्रीय कार्यलयमा भने औपचारीक जानकारी नआएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बताए।

मन्त्रालयले सहमति दिएसँगै प्रहरी प्रधान कार्यालयले कार्यविधि बनाएर म्यादी प्रहरीका लागि दरखास्त आह्वान गर्ने कानुनी व्यवस्था छ। अहिले प्रहरीले कार्यविधि तयार गरिरहेको डिआइजी राईले बताए। स्थानीय चुनावमा भन्दा आगामी चुनावका लागि म्यादी प्रहरी १५ हजारले थप गरेको छ। मतदान स्थल र केन्द्र पनि बढी भएका कारण म्यादी प्रहरीको संख्या थप गरिएको प्रहरीले जनाएको छ।

म्यादी भर्नामा स्थानीय चुनावमा खटिएका म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीलाई पहिलो प्राथमिकता दिने डिआइजी राईले जानकारी दिए।
सरकारले यसपटक कारागारमा रहेका कैदीबन्दी मतदाता, निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले पनि भोट खसाल्न पाउने व्यवस्था गरेको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button