तनहुँमा उम्मेदवार बन्न काङ्ग्रेस केन्द्रीय नेताको इच्छा, रामचन्द्र पौडेल क्षेत्र नम्बर १ मा आकाङ्क्षी

तनहुँ, १४ भदौ (रासस) : मङ्सिर ४ गते हुने निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नका लागि नेपाली कांग्रेसका केन्द्रीयस्तरका नेताहरूले आवेदन दर्ता गराउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले आकाङ्क्षीहरूको आवेदन सङ्कलन गरेकामा आजसम्म तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि चार जनाले आवेदन दर्ता गराउनुभएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य शङ्कर भण्डारी, गोविन्द भट्टराई र संविधानसभा सदस्य रामचन्द्र पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि आवेदन दर्ता गराउनुभएको छ ।

वरिष्ठ नेता पौडेलले भतिज उद्धव पौडेलमार्फत नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालयमा आवेदन दर्ता गराउनुभएको हो । सुशासन, पारदर्शीता र गाउँको विकासलाई प्राथमिकता दिन आफू उम्मेदवार बन्न इच्छुक रहेको उल्लेख गर्नुभएको छ । केही समय अगाडि गृह जिल्ला आउँदा पौडेलले आफू क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने बताउनुभएको थियो ।

केन्द्रीय सदस्य भण्डारीले जिल्ला सदस्य डम्बरबहादुर अधिकारीमार्फत आवेदन दर्ता गराउनुभएको हो । भट्टराईले आइतबार आफैँ आवेदन दर्ता गराउनुभएको थियो । तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि आज कसैले आवेदन दर्ता नगरेको क्षेत्रीय सभापति चुडामणि खनालले जानकारी दिनुभयो । प्रदेशतर्फ भने प्रत्यक्ष र समानुपातिकका लागि आवेदन दर्ता गरिएको छ ।

मङ्सिर ४ गते हुने निर्वाचनका लागि काङग्रेस तनहुँले आकाङ्क्षी उम्मेदवारको नामावली सङ्कलन सुरु गरेको छ । तनहुँका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बन्न चाहने आकाङ्क्षीको नामावली सङ्कलन गरिएको हो ।
तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फ भदौ १४ गते बेलुकासम्म आन्तरिक उम्मेदवारी दर्ता गर्न सकिने क्षेत्रीय सभापति श्यामकुमार मौरातीले जानकारी दिनुभयो । प्रतिनिधिसभा समानुपातिकतर्फ दलितमा यमुना खड्का विक र खुल्ला महिलामा मिरा जोशीले आवेदन दर्ता गराउनुभएको छ ।

तनहुँ क्षेत्र नम्बर १ प्रदेश (क) तर्फ प्रत्यक्षमा रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, शेष मोहम्मद हनिफ (गोरा मियाँ), सरिता गुरुङ, लक्ष्मीप्रसाद आचार्य, हरिदत्त पौडेल, दीपक भट्टराई, डोबाटे विक, पूर्णबहादुर गुरुङ, सहदेव अधिकारी र शङ्कर पौडेलले आवेदन दर्ता गराउनुभएको छ ।

समानुपातिकतर्फ कुलचन्द्र वाग्ले, कल्पना पोखरेल, अर्जुनबहादुर अधिकारी, राजकुमार श्रेष्ठ, आशा थापा, सहिदा खातुन, पवित्रा पौडेल, सुशीला शर्मा, ओजराज पौडेल, कृष्ण रुचाल, उदयराज गौली, चिनु पोखरेल, ताराप्रसाद श्रेष्ठ, छत्रराज भण्डारी, विणा कैनी, वृषराज श्रेष्ठ, टेकबहादुर गुरुङ, समुन्द्र गोदार, नारायणी अधिकारी, श्यामकुमार मौराती र प्रताप गुरुङले आवेदन दर्ता गराउनुभएको छ ।

प्रदेश (ख) तर्फ डम्बरबहादुर अधिकारी, दीपक भट्टराई, रामचन्द्र अधिकारी, अर्जुन अधिकारीले आवेदन दर्ता गराउनुभएको छ । समानुपातिकतर्फ रेशम गुरुङ, चिजा श्रेष्ठ, पुष्पादेवी श्रेष्ठ, प्रेमबहादुर गुरुङ, पवित्रा गौली, केशबहादुर सुनार, तमबहादुर दरै, विद्या खनाल नागिला, अमृतबहादुर नेपाली, बाबुराम श्रेष्ठ, राधादेवी खनालले आवेदन दर्ता गराउनुभएको छ ।

क्षेत्रीय समितिमा उम्मेदवारी दर्ता गराएकामध्ये प्रत्यक्षतर्फ तीन जना र समानुपातिकतर्फ एक महिलासहित दुई जनाको नामावली सहमति भए सहमतिमा र नभए बहुमतीय आधारमा छनोट गरी जिल्ला कार्यसमितिमा सिफारिस गरिने क्षेत्रीय सभापति मौरातीले बताउनुभयो ।

तनहुँ क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभा सदस्यका लागि भदौ १६ गतेभित्र क्षेत्रीय समितिमा उम्मेदवारी दर्ता गर्न आग्रह गरिएको क्षेत्रीय सभापति चुडामणि खनालले बताउनुभयो । काङ्ग्रेस तनहुँ जिल्ला कार्यसमितिले भदौ १९ गतेभित्र उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाउने तयारी गरेको छ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिबाट सिफारिस भई आएका उम्मेदवारको नामावली जिल्ला कार्यसमितिले भदौ १९ गतेभित्र केन्द्रीय समितिलाई पठाउने भएको हो ।

तनहुँका दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा आकाङ्क्षीको नामावली सङ्कलन गरी सम्बन्धित समितिबाट नामावली सिफारिस भई जिल्ला समितिमा आउने नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button