पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी देखि संचालनको तयारी, गण्डकीका मुख्यमन्त्री तथा मन्त्रीहरुद्वारा अवलोकन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छन् । बुधबार मुख्यमन्त्र कृष्णचन्द्र नेपाली पोखरेल, भौतिक पूर्वाधार मन्त्री कुमार खड्का, अर्थमन्त्री रामजी प्रसाद बराल, पर्यटनमन्त्री मणीभद्र शर्मा र कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले अवलोकन गरेका हुन् ।

सो अवसरमा पोखरा विमानस्थल संचालन तयारी समितिका संयोजक तथा विमानस्थल प्रमुख विक्रम गौतमले २०२२ को जनबरी १ मा आन्तरिक उडान सुरु गर्ने गरी काम भइरहेको जानकारी गराए । उनले त्यसको १ वर्षभित्रमा अन्तराष्ट्रिय उडान गर्न सकिने गरी योजना थालेको बताए । विमानस्थलबाट हुने उडान र त्यसका लागि आवश्यक पूर्वाधारका विषयमा समेत उनले मुख्यमन्त्री र मन्त्रीहरुलाई जानकारी गराएका थिए ।

निर्माणको अवस्था, विमानस्थल सञ्चालन गर्न लाग्ने समय, स्थानीय सरोकारवालाले उठाएका समस्या आदिका बारेमा बुझ्दै मुख्यमन्त्री पोखरेलले प्रदेश र मुलुककै गौरवको आयोजना निर्धारित समयमै सम्पन्न गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रदेशको समृद्धिसँग जोडिएको हुँदा कोभिड महामारी बाट थलिएको पर्यटन क्षेत्रलाई माथि उकास्न साहयक सिद्ध हुने बताए ।

पोखरा र विदेशबिचको सिधै उडान सञ्चालनका लागि सुरक्षा, भन्सार, अध्यागमन कार्यालय सञ्चालनका लागि पनि पहल गर्नुपर्ने धारणा उनको छ । अहिले विमानस्थल नजिकै ल्यान्डफिल साइट रहेको त्यसले उडानमा समस्या पार्ने भएकाले तत्काल विकल्प खोज्न उनले सम्बन्धित पक्षसँग आग्रह गरे ।

विमानस्थल निर्माण भइरहँदा पानीको निकास मुख्य समस्या देखिएको भन्दै मुख्यमन्त्री पोखरेलले यसका लागि प्रदेश सरकारले संघ सरकारसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । ‘पोखराको धेरैजसो भागको पानीको निकास यही विमानस्थल आसपास भएको र त्यसको व्यवस्थापन नहुँदा विमानस्थल नै खतरामा पर्न थालेको छ’ , मुख्यमन्त्री पोखरेलले भने, ‘स्थानीय नागरिकले उठाएका सबाल तत्काल सम्बोधन गर्नुपर्ने छ, पानी र ढल व्यवस्थापनका लागि ३४ करोड रुपैयाँ लाग्ने लागत अनुमान गरिएको छ, प्रदेशको स्रोतले मात्र भ्याँदैन, हामी केन्द्रसँग समन्वय गर्छौं ।’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ८४ प्रतिशत भौतिक काम सम्पन्न भएको छ । हाल चिनिया १ सय ८५ र नेपाली २ सय ३० जना कामदारले काम गरिरहेका छन् । १ सय १० वटा हेभी मेसिनरी प्रयोग भइरहेको समेत जानकारी गराइएको छ । २२ अर्बको परियोजनामा हालसम्म ६९ प्रतिशत आर्थिक प्रगति भएको पनि मुनकर्मीले बताए ।

उडानको मुखमा पर्ने रिठ्ठेपानी डाँडा खार्नका लागि स्थानीयस्तरबाट निजी जग्गा कटान सुरु भए पनि ठोसरुपमा अगाडि बढ्न नसकेको र सरकारी वनतर्फको कटान सुरु गर्न पुन एआइए गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

विमानस्थलभित्र आयल डिपो निर्माणको काममा पनि ढिलासुस्ती भएको बताइएको छ । विमानस्थल नजिकै रहेको खुल्ला ल्यान्डफिल साइटका कारण चराचुरुंगीको क्रियाकलाप देखिएकाले यसको व्यवस्थापन तत्काल गर्न पोखरा महानगरपालिकालाई लगायत सम्बन्धित निकायसमक्ष आफुहरुले ताकेता गरेता पनि सुनवाई नभएको मुनकर्मीले बताए ।

उक्त अवसरमा कल्सल्ट्यान्स इन्जिनियर भुपेन्द्र शेरचनले पुराना खोल्साखोल्सी अतिक्रमण हुँदै गएको र पानीको व्यवस्थापन नहुँदा त्यसको चाप विमानस्थलमा परेको बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले अरु सबै कुरा छाडेर पहिले पानी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘विमानस्थलको छेउखण्ड भत्किइरहेको छ, अर्को वर्ष गरौंला भनेर कुर्ने अवस्था छैन, बजेट व्यवस्थापन गरेर तत्काल काम थाल्नुपर्छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button