व्यासको जन्मभूमि र पराशरको तपोभूमि दमौलीलाई धार्मिक पर्यटनको केन्द्र बनाइने

दमौली, ११ भदौ (रासस) ः व्यासको जन्मभूमि तनहुँको दमौलीलाई धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा जाने पृथ्वीराजमार्गमा पर्ने व्यास र पराशर गुफासहितको धार्मिक सांस्कृतिक महत्वको दमौली क्षेत्रमा धार्मिक आस्थाका पर्यटक आकर्षित गर्न सकिनेछ । त्यसका लागि व्यासको जन्मभूमि तथा पराशर ऋषिको तपोभूमि, शिरमा रहेको मानुङकोट तथा वरपरका प्राकृतिक, सांस्कृतिक, धार्मिक स्थल रहेको यो क्षेत्रको प्रचारको हुनुपर्ने आवश्यकता औल्याइएको छ ।

वेदव्यासले महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दावी र विभिन्न स्रोतले प्रमाणित गरेपनि व्यासभूमिको उचित प्रसारप्रसार हुन नसकेको व्यास क्षेत्र विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठ बताउँनुहुन्छ । “व्यास जन्मिएको, पराशरले तपस्या गरेको ठाउँ आज संसारभर प्रख्यात हुनुपथ्र्यो, तर त्यसो हुन सकिरहेको छैन”, श्रेष्ठले भन्नुभयो, “जनस्तरबाट त प्रयास सुरु भयो, तर राष्ट्रियस्तरबाट हुन सकेको छैन ।”

व्यासभूमिलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित कोषकै सक्रियतामा १०८ फिट अग्लो व्यासको मूर्ति बनाउन आवश्यक पूर्वाधार निर्माण थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र व्यास नगरपालिकाबीच सम्झौता भई पहिलो चरणमा रु पाँच करोड ८४ लाख ८४ हजारमा मूर्ति अड्याउने स्तम्भ निर्माणको काम भइरहेको छ । मन्त्रालयको समपुरक अनुदान रु तीन करोड ८० लाख १४ हजार छ । नगरपालिकाले रु दुई करोड चार लाख ६९ हजार लागत साझेदारी गरेको छ । पर्यटन मन्त्रालयबाट अहिलेसम्म रकम आएको छैन । सम्झौताको रकम नआएपछि भइरहेको कामको भुक्तानी दिन समस्या भएको कोषले जनाएको छ ।

दमौलीमा घुम्न लायक थुप्रै धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर यहाँ पर्यटकलाई अझै आकर्षित गर्न सकिएको छैन । पर्यटकीय नगरी बन्दिपुरदेखि प्रदेशको राजधानी पोखरा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई यस क्षेत्रमा घुम्ने वातावरण बनाउन नसकिएको स्थानीयवासी बताउँछन् ।

व्यासको जन्मभूमि दमौलीमा शिवपञ्चायन मन्दिर छ । मन्दिरको केही तलपट्टि व्यासगुफा छ । जहाँ बसेर व्यासले चारवेद र अठार पुराणको रचना गरेको दावी गरिन्छ । व्यास गुफाको पारिपट्टी पराशर गुफा छ । पराशर गुफासम्म पुग्न मादी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यासगुफासम्म घुम्न आएकाहरु पुल तरेर मादी सेती नदीको सङगमस्थल पराशर क्षेत्र पुग्छन् ।

नजिकैको तनहुँ जलविद्युत आयोजनाले यस क्षेत्रमा आकर्षण थपेको छ । यस ठाउँ वरपर घुम्ने गन्तव्य धेरै छन्, जसले गर्दा एक दिन मात्र समय छुट्याएर आउनेहरुलाई यो समय अपुग हुन सक्छ ।

दमौली आसपास पर्यटक आकर्षित गर्ने पूर्वाधार थपिने क्रम जारी छ । व्यास–१० स्थित परेवाडाँडामा परेवाको र दुम्सीचौरमा दुम्सीको मूर्ति बनाइएको छ । यस ठाउँमा आन्तरिक पर्यटक आउने निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।

वडा कार्यालयको रु तीन लाख र स्थानीयवासीको सहयोग गरी एक लाख २० हजारतमा दुम्सीचौरमा दुम्सीको मूर्ति राखिएको छ । सार्वजनिक बिदा र शनिबारको दिन यहाँ सर्वसाधारण घुम्न आउने स्थानीय किशोर गुरुङले बताउनुभयो । टिकटकलाई भिडिओ बनाउन सर्वसाधारणको यहाँ भिड लाग्छ ।

दमौली बजार छर्लङ्ग देखिने मानुङकोट यहाँको पर्यटकीय गन्तव्यमध्ये प्रख्यात ठाउँ हो । कोभिड–१९ को बन्दाबन्दीमा यहाँ एकैदिन हजारौ पर्यटक पुगे । मानुङकोटबाट देखिने कुहिरो र नागबेली परेर बग्ने मादी नदीको पृष्ठभूमिमा देखापर्ने हिमश्रृङ्खला यहाँको थप आकर्षण स्थल हो ।

विभिन्न शास्त्रीय प्रमाणले व्यासको जन्मभूमि दमौली भएको स्वीकार गरिसकेपनि प्रचारप्रसारको अभावमा यस क्षेत्र ओझेलमा परेको व्यासका अध्येता काशीनाथ न्यौपानेले बताउनुभयो । व्यासको भूमिलाई विश्वमाझ चिनाउन बेला–बेलामा कार्यक्रमहरु भइरहेपनि त्यसले मूर्त रुप पाउन नसकेको उहाँको गुनासो छ । “व्यास भूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले परिचित गराउन र धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्धेश्यले बेला–बेलामा कार्यक्रमहरु भइरहेकै छन्”, न्यौपानेले भन्नुभयो ।

व्यासभूमिलाई अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउँदै धार्मिक गन्तव्य बनाउन विविध कार्यक्रम हुँदै आएको छ । विश्वका हिन्दुधर्मावलम्वी र ओमकार परिवारको मूल तीर्थस्थल वनाउने उद्देश्यले केही वर्ष अगाडि व्यासक्षेत्रमा १८ महिने अखण्ड हरिनाम सम्पन्न भयो । विसं २०४१ मा योगी नरहरिनाथले कोटीहोम लगाउने सिलसिलामा भएको धर्म सभामा महर्षि वेदव्यासको अवतरण भूमि दमौली स्थित शुक्लामाहेन्द्री सङ्गम भएको भनाइ व्यक्त गर्नुभएको थियो । त्यसपछि यस क्षेत्रको बारेमा थप अध्ययन अनुसन्धान हुन थालेको न्यौपानेले बताउनुभयो ।

न्यौपाने अगाडी थप्नुहुन्छ, “ नरहरिनाथले धर्मसभामा महर्षि वेदव्यासको २८ औ अवतार दमौलीमा भएको भनेपछि यस क्षेत्रको बारेमा अध्ययन अनुसन्धान गर्न प्रेरणा मिल्यो । ” व्यास पराशर क्षेत्रको प्रवद्र्धनमा व्यास नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । व्यासको मूर्ति निर्माण गर्न चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरिएको छ ।

व्यासको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि ८ किमि पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको मानिन्छ । माछाको रूपबाट जन्म भएकाले त्यस कुण्डको नाम मच्छेकुण्ड रहेको बताइन्छ । योगी नरहरिनाथले ‘आध्यात्मिक नेपाल एवं हिमालय देवोदेश’मा पाँच नदी सेती, मादी, बुल्दी, गुणादी र र छाब्दीको सङ्गमलाई व्यासको जन्मभूमि, कर्मभूमि र तपोभूमि, स्वामी प्रपन्नाचार्यले ‘मिल्केका झिल्का’ मा दमौली क्षेत्रलाई र कुमारबहादुर जोशीले आफूले अन्तर्वार्ताका क्रममा मादी र सेतीको सङ्गम नै व्यास(कृष्ण द्वैपायन)को जन्मस्थल भएको पाएको उल्लेख गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button