माउन्ट अन्नपूर्णमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

पोखरा, भदौ ८ गते । पोखराको पहिलो निजी विद्यालय माउन्ट अन्नपूर्ण माविले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ ।
विद्यालयले एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७९मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको हो ।

म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा गरी अध्ययन अध्यापन हुने माउन्ट अन्नपूर्णमा यो वर्ष दुवै विषयमा गरी २ सय जना विद्यार्थीहरु भर्ना भएको विद्यालयका सञ्चालक चिजकाजी गुरुङले बताए । नव आगन्तुक विद्यार्थीहरुको सम्मानमा आयोजित उक्त कार्यक्रमको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले उद्घाटन गरेका थिए ।

उनले सो अवसरमा पोखराकै पहिलो विद्यालयमा अध्ययन गर्न पाउनु विद्यार्थीहरुका लागि गौरवको विषय रहेको बताउँदै नेपालमा दक्ष जनशक्ति उत्पादनका लागि माउन्ट अन्नपूर्णको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज प्रधानाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल सइन्द्र श्रेष्ठ, एकेडेमिक डाइरेक्टर अशोक शाहीले विद्यालयको गतिविधि र अनुशासनका बारेमा आफ्ना भनाई राखेका थिए ।

यसै गरी कार्यक्रममा भू पू विद्यार्थी मञ्चका अध्यक्ष वरिष्ठ चिकित्सक डा.निरज रञ्जित, नवआगन्तुक विद्यार्थीहरुको तर्फबाट सुजल गुभाजु लगायतले शुभकामना व्यक्त गरेका थिए । सोहि विद्यालयकी पूर्व विद्यार्थी एवं एन आइ सी एशिया बैंककी प्रदेश संयोजक स्वेता शेरचन र शिक्षक एवं वरिष्ठ प्रशिक्षक विकास गुरुङले क्रमशः म्यानेजमेन्ट तथा होटेल म्यानेजमेन्टका विद्यार्थीहरुलाई जानकारीमुलक प्रशिक्षण समेत प्रदान गरेका थिए । कार्यक्रमको संचालन प्लस टुका संयोजक कृष्ण लम्सालले गरेका थिए ।

कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । हाल विद्यालयमा बाल कक्षा देखि १२ सम्म करिब हजार भन्दा वढि विद्यार्थीहरु अध्ययनरत रहेकाछन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button