नेराशिसं कास्कीद्वारा मेयरलाई १७ बुँदे ज्ञापन पत्र

७ भाद्र, पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले पोखरा महानगरपालिका र मादी गाउँपालिकामा शिक्षकका माग राखी ज्ञापनपत्र बुझाएको छ ।

संगठनले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत वीरन्द्रदेव भारती, शिक्षा महाशाखा हेमप्रसाद आचार्यको उपस्थितिमा शिक्षकका विभिन्न माग राखी ज्ञापन पत्र बुझाएको हो।

शिक्षकहरुमाथि राज्यद्वारा गरिएको चरम विभेदको अन्त्य गर्न, असमान ग्रेड, राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक प्रतिवेदन सार्वजनिक गर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्न, विभिन्न मितिमा शिक्षक कर्मचारीका पेसागत सङ्गठनहरुसँग गरिएका सम्झौता अविलम्ब कार्यान्वयन गर्नलगायतका १७ बुँदे माग राखी ज्ञापन पत्र महानगरका मेयरलाई बुझाइएको नेराशिसं कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले बताए ।

ज्ञापनपत्र बुझ्दै महानगर प्रमुख धनराज आचार्यले समाजका बौद्धिक वर्गका शिक्षकलाई विगतदेखि नै राज्यबाट विभेद भएको र यसको अन्त्यका लागि महानगरले सक्ने र महानगरको अधिकार क्षेत्रभित्र पर्ने शिक्षकका मागहरु महानगरले छिट्टै सम्बोधन गर्ने बताए । त्यस्तै मेयर आचार्यले पोखरा महानगरलगायत कास्कीमा सामुदायिक विद्यालयको सिकाइ सहजीकरणका लागि आइसिटी बेसका तालिमहरु छिट्टै सञ्चालन गर्न लागेको बताए ।

पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले संगठनले राखेका अधिकांश मागहरु जायज भएको र महाशाखा एवं महानगरको सहकार्यमा सम्बोधन गरिने बताए । १७ बुँदे ज्ञापनपत्र नेराशिसं महानगर कमिटी अध्यक्ष विष्णुहरि त्रिपाठीले वाचन गरेका थिए ।

मादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङलाई नेराशिसं मादी गापाका सचिव नारायण सापकोटाको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको छ ।

ज्ञापनपत्र पोखरा महानगरसहित ४ गाउँपालिकामा बुझाउने योजना अनुसार पोखरा महानगरपालिका र मादी गाउँपालिकामा बुझाइएको तथा रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा विप्लव समूहको बन्दका कारण कार्य प्रभावित भएको र भोलि बझाइने नेराशिसं कास्कीका सचिव तीर्थराज ढकालले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button