बन्दले पोखरा सुनसान, लेखनाथमा भेटियो शंकास्पद बस्तु

पोखरा, ७ भदौ । सरकारले ‘राष्ट्रघाती’ अमेरिकी सहयोग एमसिसी संसदबाट पारित गरेको विराेध लगायतका माग राखेर ४ राजनीतिक दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव आज बिहानै देखि पोखरामा परेको छ ।

बन्दका कारण सडकमा दुई पांग्रे सवारी साधन पातलो मात्र चलेका छन् भने सार्वजनिक सवारी सधान चलेका छैनन्् । पोखराका मुख्य बजार महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, पृथ्वीचोक, बगर, विरौटा लगायतका ठाउँका पसल बन्द नै रहेका छन । भित्री सडकमा रहेका पसल आशिंक मात्र खुलेका छन् ।

पोखराका मुख्य चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमख अजय केसीका अनुसार अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन ।

लेखनाथमा भेटियो शंकास्पद बस्तु : पोखरा महानगर पालिका वडा नम्बर २७ मा शंकास्पद बस्तु भेटिएको छ । लेखनाथस्थित सुन्दर बजार नजिकै राजमार्गमा उक्त बस्तु भेटिएको कास्कीका एसपी अजय केसीले जानकारी दिए । उनका अनुसार शंकास्पद बस्तु बारे नेपाली सेनालाई जानकारी गराइएको र सेनाको बम डिस्पोजल टोलीले त्यसको अनुसन्धान गरी डिस्पोज गर्नेछ । शंकास्पद बस्तु भेटिएपछि त्यस वरपरका बासिन्दा भने त्रसित भएका छन् ।

सरकाविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले संयुक्त रूपमा आज नेपाल बन्दको घोषणा गरेका हुन्।

सरकारले ‘राष्ट्रघाती’ एमसीसी सम्झौता पारित गरेको, नेपाल कम्युनिस्ट पार्टीसँग भएको ३ बुँदे सहमति उल्लंघन गरेको, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलगायतका नेतारकार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा चार कम्युनिस्ट पार्टीले बन्द आह्वान गरेका हुन् । देशका सबै जसो ठाउँमा बन्दको प्रभाव परेको छ ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button