लामाचौर तीज महोत्सवमा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने

पोखरा ५, भदौं । पोखरा १६ को लामाचौर तीज महोत्सवको अवसरमा यस बर्ष महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । नवआदर्श सामुदायिक विकास समाजले २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ को अवसरमा उक्त प्रतियोगिता गर्ने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

यही भदौ ११ देखि १४ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा संंचालन हुने उक्त प्रतियोगितामा दुबै तर्फ तीन विभागिय टोली सहित ५÷५ टोलीको सहभागिता हुने भएको प्रतियोगिताका प्रचार प्रसार संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताए ।

समाजले विगतदेखि महिला राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्दै आएकोमा यसपालि पुरुष राष्ट्रिय भलिबललाई पहिलो पटक आयोजन गरेको हो । महिला भलिबलतर्फ ३ विभागीय टिम नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित न्यु डायमण्ड युथ स्पोर्टर्स क्लब र गण्डकी प्रदेशको टिम सहभागि हुने भएको छ । यस्तै पुरुषतर्फ ३ विभागीय टिम नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम सहभागि हुने भएको समाजले जनाएको छ । दुवै विधातर्फ विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्ने भएका छन भने सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टलाई आकर्षक पुरस्कार प्रदान गरिने भएको छ ।

उक्त महोत्सवको मुख्य आकषर्णको रुपमा उक्त प्रतियोगिता भएकोले यस बर्ष भलिवलको प्रबेश टिकटबाट मात्र १५ लाख रुपैया आम्दानी हुने अपेक्षा गरिएको आर्थिक उपसमिति संयोजक दीलबहादुर थापाले बताए ।

उक्त महोत्सव अन्र्तगत तीजगीतमा प्रथम हुनेले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार र सान्त्वनाले १० हजार, अन्तरमावि लोकनृत्यतर्फ प्रथमले ४० हजार, दोस्रोले २५ हजार, तेस्रोले १५ हजार र सान्त्वना तीन टिम र उत्कृष्ट भेषभूषलाई ५ हजार दिइने भएको छ ।

उक्त महोत्सवमा भलिबल प्रतियोगिताका अलावा विगतमा झैं अन्तरमावि लोकनृत्य प्रतियोगिता, सितेरियो कराते प्रतियोगिता, अन्तरमहिला खुला तीज गीत प्रतियोगिता लगायत कलाकारको प्रस्तुति, सांस्कृतिक कार्यक्रम, बालउद्यान, औद्योगिक व्यापार प्रदर्शनी हुने भएको समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारीले बताइन्। २०५४ सालमा स्थापित संस्थाको रजत वर्ष पनि भएकोले कोरोनापछि २ बर्षको अन्तरालमा महोत्सव हुने भएको उनले जनाइन्।

भदौ १२ गते राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले महोत्सव उद्घाटन गर्ने र समापनमा पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड आउने कार्यक्रम तय गरिएको अध्यक्ष अधिकारीले बताइन् । भदौ १३ मा संस्थाले निर्माण गरेको ब्याडमिन्टन कोर्टसहित पुरुष भलिबल प्रतियोगिताको उद्घाटन प्रदेशका युवा तथा खेलकुद मन्त्री सदस्य राजीव गुरुङले गर्ने तायरी गरिएको छ ।

यसैगरी, शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई आयोजकले विगतमा झैं यस बर्ष पनि सम्मान गर्ने भएको छ । सो महोत्सवमा ५४ लाख ५ हजार खर्च हुने अनुमान गरिएको छ भने हालसम्म ४८ लाख संकलन भएको समाजले जनाएको छ । तीज महोत्सव संचालन गर्न स्थापना गरेको कोषमा २६ लाख संकलन भइसकेको र यसपालि करिब ४० लाख पुराउने लक्ष्य राखिएको समाजले जनाएको छ । महोत्सवको मुख्य सहयोगी बानियाँ किराना स्टोर्स लामाचौर रहेको छ । समाजले हाल एक शव वहान र ३ वटा एम्बुलेन्स सेवा संचालन गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button