‘संघीयताको बारेमा पुनर्विचार गर्ने समय अझैं भएको छैन्’

नारायण क्षेत्री/सबिन रेग्मी 
पोखरा ३ भदौ
संघीयतालाई थप मजबुद बनाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । सयपत्री समाज कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको ‘संघीयता, प्रदेशको नीति निर्माण प्रक्रिया एवं अभ्यास’ बिषयक अन्तक्र्रियामा बोल्दै उनिहरुले आम नागरिकमा संघीयताप्रति नै वितृष्णा पैदाभएपनि संघीयतालाई संस्थागत गर्नुको विकल्प नरहेकोमा जोड दिएका हुन् ।

बरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पाँच बर्षको अवधिमा आशातित सफलता हाँसिल हुन नसकेपनि अहिले नै संघीयता चाहिँदैन भनेर निष्कर्षमा पुगिहाल्न नहुनेमा जोड दिए । उनले देश संघीयतामा गएको लामो समय बितिसक्दा समेत अधिकार भने केन्द्रमा नै सिमिति भएको उल्लेख गर्दै अब केन्द्रिकृत मानसिकताको अन्त्य हुनुपर्ने बताए । संघीयताले संविधानको सर्वस्वीकार्यता बढाएपनि सोही अनुरुप काम भने हुन नसकेको उनको भनाइ छ ।

राजनीतिशास्त्री प्रा.देवराज दाहालले देशको आन्तरिक पक्ष कमजोर भए बाहिरी राष्ट्रले हाबी हुने मौका पाउने भन्दै एकताको खाँचो औंल्याए । दुइ छिमेकी मुलुक चीन र भारतका बिचमा रहेको नेपालले दुबै देशसंग सन्तुलित सिद्धान्त अपनाउनुपर्ने उनको भनाइ छ । भौगोलिक हिसाबले सानो देश हुँदैमा कमजोर नहुने भन्दै नेतृत्व क्षमता सबल भए विकास असम्भव नहुने उनले बताए ।

राजनीतिक विश्लेषक हरी शर्माले राज्य र नागरिकबिचको सम्बन्ध प्रगाढ हुनुपर्नेमा जोड दिए । राजनीतिक दलहरुले ठूला कुरागरेपनि काम नगरेको भन्दै दलहरु अब नागरिकप्रति जवाफदेही बन्नुपर्ने बताए । संघीयता अझैं बाल्यवस्थामा नै रहेको उनको भनाइ थियो ।
प्रा. गेहेन्द्रश्वर कोइरालाले नेताहरुको कार्यशैलीका कारण आम नागरिकहरुका बेचैनी बढ्दै गएको भन्दै बौद्धिक जगतले यसतर्फ बेलैमा ध्यान दिनुपर्ने बताए । देशको शासनप्रणाली नेता र उनीहरुका आसेपासेबाट परिचालित हुँदै गएकाले यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।

समाजका अध्यक्ष प्रा.डा. कृष्णबहादुर केसीले संघीयतालाई एउटा पक्षले अझै मजबुद बनाउनुपर्ने र अर्को पक्षले खारेजी गर्नुपर्ने सम्मको आवाज उठिरहेका बेला यस्ता खालका बहस र छलफल चलाउनु आवश्यक भएको बताए । संस्थाले स्थापनाकाल देखिनै हरेक क्षेत्रका विषयमा विभिन्न विज्ञहरुसंग छलफल गर्दै आइरहेको र यो अभियानलाई निरन्तरता दिने उनले बताए ।

कार्यक्रममा राजनीति शास्त्रका प्राध्यापक एवं अधिवक्ता गीरधारी सुवेदी, नागरिक समाज कास्कीका पूर्व संयोजक बिष्णुप्रसाद बराल, सयपत्री समाजका उपाध्यक्ष अमृतकुमार भण्डारी, बसन्त चालिसे, सुधिररमण पराजुली, शिव रेग्मी, कमल ढकाल, डा. रामजी पोखरेल, भीमनाथ बराल, कृष्ण पौडेल, रामप्रसाद बुढा, श्रीकान्त खतिवडा, सञ्जय कोइराला, कृष्ण केसी, कमल पौडेल, कपिल अधिकारी, कृष्ण अधिकारी, प्रा.लेखनाथ भट्टराई र गायत्री भट्टले नेताहरुमा म नै राज्य हुँ भन्ने प्रवृत्ति हाबी हुँदै गएको भन्दै देशमा सक्षम र इमान्दार नेतृत्वको खाँचो औंल्याए । संघीयता लागु भएको पाँचबर्ष बितिसक्दा समेत नागरिकले त्यसको अनुभूत गर्न नपाएको भन्दै उनिहरुले संघीयताप्रति असन्तुष्टि व्यक्त गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button