पोखरामा शनिबार तयाः मचा नृत्य प्रतियोगिता हुने

नारायण क्षेत्री ,पोखरा १ भदौ । पोखरामा शनिबार तायाः मचा नृत्य प्रतियोगिता आयोजना हुने भएको छ ।तायाः मचा नृत्यको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै नाचको संरक्षण गर्ने उद्देश्यले भदौ ४ गते प्रतियोगिता आयोजना गर्न लागिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

नेवाः खल कास्कीको तत्वावधानमा हरेक बर्ष पोखराका फरक फरक टोलमा प्रतियोगिता हुँदै आइरहेको छ । यसपटक मोहरिया–सिंहनाथ टोल तायाः मचा समितिको आयोजनामा पोखरा–२ स्थित विन्ध्यवासिनी पार्कमा प्रतियोगिता आयोजना हुने नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । पोखरा महानगरपालिका भित्रका विभिन्न २३ समूहले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

प्रतियोगितामा प्रथम हुने समूहले नगद रु. ३५ हजार, दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना हुने समूहले ५ हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट नृत्य महिला समूहलाई ११ हजार १ सय ११, उत्कृष्ट वाद्यवादनलाई ५ हजार र उत्कृष्ट जोकरलाई २ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितालाई सफल बनाउन शिवप्रसाद श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय मुल आयोजक समिति, १४ सदस्यीय सल्लाहकार समिति र विभिन्न उपसमिति समेत गठन गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न १५ लाख खर्च लाग्ने मुल आयोजक समितिका अध्यक्ष शिवप्रसाद श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजकमा पोखरा महानगरपालिका रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button