स्वास्थ्यकर्मीलाई आत्महत्या रोकथाम सम्बन्धि तालिम

पोखरा ३० साउन

स्वास्थ्यकर्मीहरुका लागि आत्महत्या रोकथाम सम्बन्धि दुई दिने तालिम सोमबार सम्पन्न भएको छ ।

राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश) को आयोजना तथा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको समन्वयमा भएको सो तालिममा महानगरभित्रका विभिन्न २१ वटा स्वास्थ्य संस्थामा कार्यरत २६ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
उनिहरुलाई गण्डकी मेडिकल कलेजका मनोचिकित्सक डा. रबिराज तिमिल्सिना, मनोविद विनय पाण्डे, राष्ट्रिय मानवअधिकार आयोग पोखराका वरिष्ठ अधिकृत खिमलाल सुवेदी र कोशिशकी अभियन्ता तथा पैरवी अधिकृत बसन्ती खत्रीले विभिन्न विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा मनोचिकित्सक डा. तिमिल्सिनाले ८० प्रतिशत व्यक्तिले आत्महत्या गर्नु अगाडि कुनै न कुनै प्रकारको लक्षण देखाउने गरेको बताए । उनले शारिरीक रुपमा अस्वस्थ हुँदा बिरामी अस्पताल वा चिकित्सककोमा पुग्ने गरेपनि मानसिक रुपमा अस्वस्थ हुँदा कसैलाईपनि जानकारी नगराउने प्रचलन व्याप्त रहेको भन्दै उचित परामर्श पश्चात आत्महत्यालाई रोकथाम गर्न सकिने बताए ।

अर्का मनोविद पाण्डेले मानसिक रोगीप्रति हेर्ने समाजको दृष्टिकोणमा परिवर्तन हुनुपर्नेमा जोड दिए। उनिहरुका कुरालाइ राम्रो संग नसुनिदिने परिपाटीका कारण रोकथामका प्रयासहरु प्रभावकारी हुन नसकेको बताउँदै घरपरिवार र समाजले उनिहरुका कुरालाई सुनिदिनुपर्ने उल्लेख गरे । सबैको साझा प्रयासले मात्र यसलाई न्यूनिकरण गर्न सकिने उनले बताए ।

आयोगका बरिष्ठ अधिकृत सुवदीले मानसिक स्वास्थ्य र मानवअधिकार एक अर्कामा अन्र्तसम्बन्धित भएको बताउँदै मानसिक अवस्था अस्वस्थ भएका व्यक्तिले अधिकारको प्रत्याभूत गर्न नपाएको बताए । कोशिशकी पैरवी अधिकृत खत्रीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिइन् ।

महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले कोशिसको यो प्रयास निकै सकरात्मक रहेको भन्दै महानगरले यो अभियानमा साथ दिने प्रतिबद्धता जनाए । आगामी बर्षदेखि यसका लागि महानगरले बजेट नै छुटयाउने उनको भनाइ छ । उनले सिकेका कुरा कार्यस्थलमा व्यवहारमा कार्यान्वयन गर्न स्वास्थ्यकर्मीलाइ आग्रह गरे ।

कोशिशका परियोजना संयोजक सुदिप घिमिरेले शारिरीक जस्तै मानसिक स्वास्थ्य अझैपनि नेपालको प्राथमिकताको बिषय बन्न नसकेको बताए । आत्महत्याको जोखिमलाई घटाउने उद्देश्यले संस्थाले विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरुलाई समय समयमा विभिन्न अभिमुखिकरण तालिम प्रदान गर्दै आइरहेको संयोजक घिमिरेको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button