आज चैते दशै पर्व मनाइदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा चैत्र १५ । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं । हरेक वर्ष यस दिन नवदुर्गा एवं शक्तिस्वरूपा भगवतीको पूजाआराधना गरी मनाइन्छ । चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ।
शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्। वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ।
पर्वका अवसरमा आज गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
के–के हुन्छ चार दशैंमा फरक ? : मध्यकालमा मनाइने चारवटा दशैंका बीचमा ठूलो फरक नभए पनि त्यसको विधि र प्रक्रियामा भने केही भिन्नता देखिन्छ । अहिले जस्तो बाह्रमासे फलफूलको व्यवस्था त्यतिबेला थिएन । जसका कारण सिजन अनुसारको फलफूलको प्रयोग गर्ने, पूजा र बली चढाउने विधि आदिमा पनि चारै दशैंमा भिन्नता थियो ।
मध्यकालमा वर्णाश्रम व्यवस्थाको प्रचुर प्रयोग भएकाले दशैंलाई पनि भिन्नभिन्न वर्णअनुसार फरक–फरक विधिले मनाउने गरिएको थियो । शर्माका अनुसार असार महिनामा मनाइने नवरात्र विशेषगरी ब्राह्मणहरूको मौलिक विधि अनुसार मनाउने गरिन्थ्यो । यसको अर्थ ब्राह्मणले मात्र मनाउने दशैं नभएर बली दिने क्रममा ब्राह्मण विधिबाट दिने, पूजा शैली आदिलाई पनि ब्राह्मण विधिबाट मनाउने गरिएको थियो ।
त्यस्तै, आश्विन शुक्ल पक्षमा मनाइने नवरात्र क्षत्रीय विधिबाट, शिशिरकालीन नवरात्र वैश्य विधिबाट र चैत्र शुक्लमा मनाइने नवरात्र शुद्र विधिबाट मनाउने गरिन्थ्यो । जस्तो– बली सबै नवरात्रमा दिने गरिन्थ्यो भने ब्राह्मण विधि अर्थात् असार महिनामा मनाइने नवरात्रको बलीमा तरबारको प्रयोग गरिँदैनथ्यो । तर, शारदीय नवरात्रमा भने तरबारको प्रयोग अनिवार्य थियो ।
शर्माका अनुसार पूर्वराजा वीरेन्द्रका पालासम्म पनि गोरखामा शारदीय नवरात्रमा ब्राह्मण पुजारीलाई तरबारले बली दिन लगाइन्थ्यो । यसले शारदीय नवरात्रमा ब्राह्मणले पनि क्षत्रीय विधिबाट दशैं मनाउने गरेको पुष्टि हुने शर्मा बताउँछन् ।
चैते दशैंमा पनि नवदूर्गाकै पूजा : चारवटै दशैंमा पूजा भने नवदूर्गाकै गर्ने गरिन्छ । नवरात्रको पहिलो दिन दशैंघरमा घटस्थापना गरेर जौ (कतै मकै र धान पनि थप गरेर) छरिन्छ । आठ किसिमका अष्टमात्रिका पनि भिन्दाभिन्दै किसिमका हुन्छन् । धेरैले शैलपुत्र्यादी नवदूर्गाको बढी पूजा गर्छन् । यो चारैवटा दशैंमा पूजा हुने देवी स्वरूप हो । यी सबै पूजा तान्त्रिक विधिबाट गरिन्छ ।
ज्योतिष शास्त्रअनुसार शुक्लपक्ष भनेको बिहान हो र कृष्ण पक्ष भनेको राति हो । यी सबै किसिमका दशैंहरू शुक्लपक्षमा नै मनाउने गरिन्छ । कालरात्रि पूजाबाहेक अरू सबै पूजा दिउँसोमा हुनुको संकेत पनि यी सबै उज्यालोको संकेत हो भन्ने मानिन्छ ।