तेह्रथुम पावर कम्पनीको आइपीओ बाँडफाँड शुक्रबार

काठमाडौं, २४ भदौ । पर्याप्त लगानीका अन्य अवसरहरु नभईरहेको कोरोना कहर परिरहेको यो अवधिमा बैंक, वित्तीय संस्था परियोजनाहरुले विभिन्न स्वरुपका शेयरहरु निष्काशन तथा बिक्रीमा ल्याएर शेयर बजारलाई चलायमान बनाउन योगदान दिईरहेका छन् ।

शेयर बजारमा नयाँ लगानीकर्ताहरुको आगमन पनि भईरहेको छ भने पूराना खेलाडीहरुको निरन्तरता रहेको छ । विभिन्न चरणका घटनाक्रमहरुले प्रभावित भईरहेको शेयर बजारको लय सकारात्मक हुने अपेक्षा रहिनै रहेको छ ।

यसैबीच, बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले तेह्रथुम पावर कम्पनीको सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आइपीओ) भदौ २५ गते शुक्रबार बाँडफाँड गरिने भएको छ ।

कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि ८ लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये ४० हजार कित्ता म्युचुअल फण्ड र १६ हजार कित्ता शेयर कर्मचारीका लागि रहेको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि रहेको छ ।

आइपीओमा आवेदन दिने अन्तिम दिन भदौ १३ गतेसम्म माग गरिएभन्दा ४२ गुणा बढीको आवेदन परेको थियो । २३ लाख ९६ हजार ३४८ आवेदकले ३ करोड १२ लाख ४६ हजार ९१० कित्ता शेयरका लागि आवेदन दिएका थिए । आइपीओमा मागभन्दा बढीको आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँड गरिने भएको छ । ७४ हजार ४०० जना आवेदकले कम्तिमा १० कित्ताको दरले शेयर हात पार्नेछन् । बाँकी २३ लाख २१ हजार ९४८ जनाको हात खालि हुने भएको छ ।

कम्पनीले तेह्रथुममा १ अर्ब चौतिस करोड १७ लाख रुपैयाँको लागतमा ७.५ मेगावाटको अपर खोरुङ हाइड्रोपावर परियोजना निर्माण गरिरहेको छ । शेयर निष्काशन तथा बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ४० करोड पुग्ने भएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button