आयातमुखी अर्थतन्त्रले बढ्दो चुनौती– गर्भनर अधिकारी

नारायण क्षेत्री /पोखरा १८ असार । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आयातमुखी अर्थतन्त्रका कारण देशमा चुनौती थपिएको बताएका छन् ।
नेपाल राष्ट्र बैंकबाट आर्थिक बर्ष २०७९÷८० का लागि प्रस्तुत हुने मौद्रिक नीतिका बारेमा होटल संघ पोखराले शनिबार आयोजना गरेको अन्तक्र्रियामा बोल्दै गर्भनर अधिकारीले आयात र निर्यात बीचको ठूलो अन्तरका कारण समग्र अर्थ प्रणालीमा नै चुनौती बढेको बताए ।
उनले पर्यटन क्षेत्रमा पछिल्लो समय आशाका किरण देखापरेको उल्लेख गर्दै व्यवसायीहरुका जायज मागहरुलाई मौद्रिक नीतिले सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीले संस्थाका तर्फबाट गभर्नर अधिकारी समक्ष लिखित मागहरु प्रस्तुत गर्दै गत जेठ १५ मा सरकारले प्रस्तुत गरेको बजेटले पर्यटन क्षेत्रका समस्या सम्बोधन गर्न नसकेकाले मौद्रिक नीतिले त्यसलाई समेटनेमा आफूहरु आशावादी रहेको बताए । उनले कोभिडका कारण ठूलो संख्यामा व्यवसायी तथा मजदूरहरु पलायन भएको बताए ।
सहुलियत कर्जाको सिमा २० करोड रुपैयाँबाट बढाएर ५० करोड पु¥याइनुपर्ने पनि संघले माग गरेको छ । हाल भएका कर्जाहरुलाई कम्तिमा तीन बर्ष अवधि थप गरी पुनर्तालिकिकरण गरिनुपर्ने माग पनि संघले राखेको छ ।
पर्यटन व्यवसाय अफ्ठ्यारो अवस्थाबाट गुज्रिरहेको भन्दै संघले बैक तथा वित्तीय संस्थाले कुनै प्रकारको जरिवाना शुल्क लिने, कर्जा भुक्तानी गर्ने र व्यवसायीको धितो लिलामि गर्ने जस्ता कार्य बाध्यकारी गर्न नपाउने व्यवस्थाका लागि समेत संघले राष्ट्र बैंकसँग माग गरेको छ ।
संघका सल्लाहकार एवं पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखेले पर्यटन उद्योगमा दिर्घकालीन लगानी गर्नुपर्नेमा बैंक तथा वित्तिय संस्थाहरुको अल्पकालीन नीतिका कारण व्यवसायीहरु मारमा परेको बताए ।
उनले पहुँचको आधारमा ठूला ठूला उद्योग प्रतिष्ठानहरु निर्वाध रुपमा चलेपनि साना व्यवसायीहरु भने पेशाबाट नै पलायन हुनुपर्ने अवस्था आएको भन्दै यस्ता बिषयहरुलाई मैद्रिक नीति मार्फत समेटनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक गण्डकी कार्यालयका निर्देशक रामशरण खरेल, होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुली, होटल संघ नेपालका गण्डकी प्रदेश अध्यक्ष हरि शर्मा गैह्रे, संघका सल्लाहकार बच्चुराम तिवारी, निवर्तमान अध्यक्ष विकल तुलाचन, महासचिव राजेन्द्र ढकाल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराई, टान पश्चिमाञ्चलका उपाध्यक्ष धर्मराज पन्थी, नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारी र रेवान पोखराका अध्यक्ष लक्ष्मण बराल लगायतले पर्यटनको लगानी लामो समयका लागि हुने भएकाले बैंकले कर्जा र ब्याज असुलीमा सोही अुनसारको व्यवहार गर्नुपर्ने, पुनर्कर्जाको समय बढाउनुपर्ने, उत्पादनमूलक र विलासिताका वस्तुमा भन्सार दर फरक हुनुपर्ने जस्ता मागहरु राखेका थिए ।