संखुवासभा सामूहिक हत्या : चार ठाउँमा ६ जनाको शव, अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याइँदै

२१ भदौ, संखुवासभा । एकै परिवारका छ सदस्यको भएको सामूहिक हत्याको अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली सङ्खुवासभा आउँदै गरेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि सङ्घीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको टोली तालिम प्राप्त कुकुर लिएर मादी आउँदै गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी सदरमुकाम खाँदबारीबाट घटनास्थल प्रस्थान गर्नुभएको छ । सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्नु छ घण्टा लाग्छ । घटनास्थल तेह्रथुम र सङ्खुवासभाको सिमानामा पर्दछ ।

सोमबार राति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी मादी–१ का स्थानीयवासी ५८ वर्षीय तेजबहादुर कार्कीसहित छ जनाको हत्या गरेको थियो । तेजबहादुरको शव रोडको भित्तामा फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताउनुभयो । तेजबहादुरकी आमा ८४ वर्षीया पार्वतीको शव घरमै फेला परेको छ । तेजबहादुरकी ५२ वर्षीया श्रीमती कमला र ३२ वर्षीया बुहारी रञ्जनाको शव खोल्सामा फेला परेको उहाँले बताउनुभयो । त्यस्तै तेजबहादुरका ११ वर्षीय नाति दिपेन र सात वर्षीया नातिनी गोमाको शव खरबारीमा फेला परेको प्रहरीले जनाएको छ ।

हत्याकाण्डमा तेजबहादुरका बुवा ८५ वर्षीय बौद्धमान भने सकुशल रहेको प्रहरीले जनाएको छ । रञ्जनाका श्रीमान् रमेश कार्की हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button