नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेशको ४९ औं स्थापना दिवस

पोखरा ९ असार । नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेशले ४९ औं संस्था स्थापना दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन सहित केक काटेर शुभकामना आदान प्रदान गरी मनाएको छ ।

संघको कार्यलयमा आयोजित एक कार्यक्रममा बीच दिप प्रज्वलन र शुभकामना आदान प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि संस्थाका केन्द्रिय सचिव एवम् संघका सल्लाहकार यमनाथ पौडेलले प्रदेशमा औषधी व्यवस्था विभागको शाखा नखुल्दा व्यवसायीले संघीयताको अनुभूती गर्न नपाएको गुनासोलाई केन्द्रले विशेष चासोको रुपमा हेरेकोे र प्रदेशको समस्यालाई समाधान गर्न समन्वयकारी भूमिका खेल्ने बताए ।

उनले गण्डकी प्रदेशमा मात्र १५ सय भन्दा बढी औषधी व्यवसायीहरुको अध्यावधि नविकरणदेखी सिफारिस लिन काठमाडौं धाउनु परेको बाध्यतालाई सहज बनाउने तर्फ पनि केन्द्रले ध्यान दिने बताए । जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील व्यवसायको अनुगमन र नियमनमा समेत यसले प्रत्यक्ष असर परेको उनको भनाइ थियो ।

संघका केन्द्रिय सदस्य एवम सल्लाहकार टंकप्रसाद अधिकारीले व्यवसायसँग जोडिएका कतिपय गुनासोको सुनुवाइ तत्काल सम्बोधन गर्नुपर्ने भएपनि प्रदेशमा स्वास्थ्य विभागको शाखा नहुँदा व्यवसायीले लामो समयदेखी समस्या झेलिरहेको र सम्बन्धित निकायले यस विषयमा गम्भिरतापूर्वक लिनु पर्ने धारणा राखे ।

संघका प्रदेश अध्यक्ष कृष्ण पाण्डेले प्रदेश तहमा औषधी व्यवस्था विभागको शाखा स्थापनाका लागि प्रदेश स्थित स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको गुनासो गरे । सो अवसरमा उनले संघले व्यवसायलाई मात्र नहेरी सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको जानकारी गराए ।

कार्यक्रममा संस्थाका साविक गण्डकी अञ्चल अध्यक्ष रामबहादुर केसी, उपाध्यक्ष मेघनाथ काफ्ले, कास्की जिल्ला अध्यक्ष विक्रम पन्त, कार्यक्रम संयोजक संजिव देवकोटा, थोक तर्फको उपाध्यक्ष झलक शर्मा, खुद्रा तर्फको उपाध्यक्ष दयानीधि पौडेल लगायतले व्यवसायमा देखिएका चुनौतीसँगै आगामी दिनमा तय गर्नुपर्ने रणनीतिका बारेमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम संस्थाका वरिष्ठ उपाध्यक्ष शिवबहादुर केसीले संस्थाको उद्देश्य सहित स्वागत र महसाचिव केशरी प्रसाद तिवारीले कार्यक्रम सञ्चालन सहित संघको भावी योजनाको बारेमा जानकारी गराएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button